समाज

पितिवाङखाेलामा समाजवादी मोर्चाको दबाब कार्यक्रम : कि काम शुरु गर कि ठेक्का रद्द गर

simarekha

माजवादी मोर्चा रुकुम पश्चिमले पितिवाङखोला पुल निर्माणस्थलमा दबाब कार्यक्रम गरेको छ । मोर्चाले आइतवार राप्ती लोकमार्ग अन्तरगत पितिवाङखोलामा निर्माणाधिन सडक पुलस्थलमा दबाब कार्यक्रम आयोजना गरेको हो । विगत ४ बर्षदेखि अलपत्र पारिएको पुल निर्माणको काम तुरुन्त शुरु गर्न दबाब दिने उद्देश्यले दबाब कार्यक्रम आयोजना गरिएको मोर्चाका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिए ।


 मोर्चाले अबको एक हप्ता पर्खने र काम शुरु नभए जिल्ला प्रशासन कार्यालय घेराउ लगायतका थप संघर्षका कार्यक्रम संचालन गर्ने उनले बताए  । पितिवाङ पुलको विषयमा मोर्चाले गत फागुन २७ गते जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको थियो । चैत्र ७ गतेको समयसीमाभित्र पुल निर्माणको काम शुरु नगरिएपछि मोर्चाले आज दबाब कार्यक्रम गरेको हो । 


कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वसन्त शर्मा र एकीकृत समाजवादीका प्रदेश उपाध्यक्ष ठगेन्द्र पुरीले जनताका एजेण्डा र सुशासनको पक्षमा समाजवादी मोर्चा निरन्तर संघर्षरत रहने बताए  । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी हरी सीले संचालन गरेको संक्षिप्त कार्यक्रममा नेकपाका जिल्ला ईञ्चार्ज चन्द्र सी, एकीकृत समाजवादीका जिल्ला सचिव सुरज परियार, त्रिवेणी गाँउपालिका अध्यक्ष गणेश केसी, मुसिकोट १२ का वडाध्यक्ष धिरन सिर्पाली, मुसिकोट ११ का वडाध्यक्ष गोविन्द बुढा लगायतका नेता कार्यकर्ता तथा स्थानीय जनताको उपस्थिति रहेको थियो ।


 सरोकारवालाहरुले पटक पटक ध्यानाकर्षण गराउदासमेत निर्माण कम्पनी र सम्बन्धित सरकारी निकायहरुले वेवास्ता गरेपछि समाजवादी मोर्चा सडक संघर्षमा उत्रिएको हो ।

यस विषयमा निर्माण कम्पनीका संचालक केशव लामिछानेसँग टेलिफोन सम्पर्क गर्दा पुलको लागि चाहिने ३७ टन डण्डी नेपालगञ्जमा खरिद गरिसकेकोले चाँडै काम शुरु गर्ने आश्वासन दिएका थिए ।


यस्तै डिभिजन सडक कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले अबको केही दिनभित्र काम शुरु नगरे ठेक्का रद्द गर्ने अन्तिम तयारी गरिएको जानकारी दिए  ।


राप्ति लोकमार्ग अन्तरगत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ११ र १२ स्थित पितिवाङ्ग खोलामा २०७८ बैशाख ७ गतेसम्म पुल निर्माण गर्नेगरी संरक्षण निर्माण सेवा प्रालि र डिभिजन सडक कार्यालय चौरजहारीबिच २०७६ असार ८ गते कार्यसम्झौता भएको थियो । 


मूल्य अभिवृद्ध कर बाहेक ४ करोड १२ लाख ३९ हजार ३७५ निर्माण लागत रहेको उक्त पुल ४ वर्षदेखि अलपत्र अवस्थामा छोडिएको छ । पुल नबन्दा पैदल यात्रुहरु, यात्रुबाहक सवारी साधनहरु, उद्योगी व्यवसायीका मालबाहक गाडीहरु, बिरामी बोकेका एम्बुलेन्सहरुले सास्ती पाइरहेका छन् ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार